काठमाण्डाै:
प्रतिनिधि सभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ९ वटा क्षेत्रको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली कांग्रेसले प्रतिनिधि सभाका ५ क्षेत्रमा जित हात पारेको छ । कांग्रेसले काठमाण्डौ १, काठमाण्डौ ४, रसुवा, मनाङ र मुस्ताङमा जित हात पारेको छ । एमालेले काठमाण्डौको क्षेत्र नम्बर ९, लतिलपुर २ र उदयपुर २ मा जित हात पारेको छ । कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ ।
रसुवाबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित हुनुभएको छ । आचार्यले नेकपा एमालेका छोवाङ तेन्जिङ तामाङलाई ९ हजार ६ सय २१ मतले पराजित गर्नुभयो । आचार्यले १८ हजार २ सय ३५ मत ल्याउँदा एमालेका तामाङले ८ हजार ६ सय १४ मत ल्याउनुभएको छ । रसुवामा मंगोल नेशनल अर्गनाइजेसनका विकाश घलानले २ सय १०, राष्ट्रिय स्वतन्त्र पार्टीका मीननाथ देवकोटाले १ सय ६५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका टीकाप्रसाद देवकोटाले ७५ मत ल्याउनुभएको छ ।
उदयपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझी विजयी हुनुभएको छ । रायमाझी १५ हजार २ सय ५१ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका जगन्नाथ खतिवडाले १२ हजार ८ सय ९३ मत प्राप्त गर्नुभयो । यस्तै स्वतन्त्र उम्मेदवार रामकुमार राईले १० हजार ३ सय ७९ र मंगोल नेशनल अर्गनाइजेसनका भाष्कर राईले १ हजार ४ सय ३० मत प्राप्त गर्नुभयो ।
काठमाण्डौ क्षेत्र नम्बर ९ मा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ ११ हजार ९ सय ५६ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले १० हजार ९ सय ६१ मत प्राप्त गर्नुभएको छ । यस्तै सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादीकी उम्मेदवार कल्पना धमलाले ६ हजार ४ सय २ मत प्राप्त गर्नुभएको छ ।
कैलाली क्षेत्र नम्बर–३ बाट नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी हुनुभएको छ । चौधरीले २३ हजार १ सय २० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँले गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरीलाई पाँच हजार ३ सय ७१ मतले हराउनुभयो । गठबन्धनका उम्मेदवार कृष्णकुमार चाैधरीले १७ हजार ७ सय ४९ मत प्राप्त गर्नुभयो ।
काठमाण्डौ क्षेत्र नम्बर–४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापा २१ हजार ३ सय २ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईले १३ हजार ८ सय ५५ मत प्राप्त गर्नुभएको छ । थापाले भट्टराईलाई ७ हजार ४ सय ४७ मतको अन्तरले पराजित गर्नुभएको हो ।
ललितपुर क्षेत्र नम्बर–२ मा नेकपा एमालेका प्रेमबहादुर महर्जन विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यलाई ६ हजारभन्दा धेरै मतले पछि पार्दै एमालेका महर्जन विजयी हुनुभएको हो ।
मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी हुनुभएको छ । कांग्रेसका गुरुङले २ हजार ५ सय ७५ मत ल्याउनुभयो भने एमालेका गुरुङले २ हजार २ सय ४७ मत ल्याउनुभएको छ । उज्यालो


